Рет қаралды 124
Nepali poetry turned into a song - Inner vest -by poet Purna Biram
भित्री गञ्जी - पूर्ण विराम (कविता) गीतको रूपमा
भित्री गञ्जी
मैले हेर्न चाहेको बखतमा तिम्रो छायासम्म देखाउन नसक्ने
जमिनको जुनसुकै भागमा मेरा पाइतालाले कुल्चिँदा
जताततै उपस्थिति जनाउँछ पावकले
र मैले बोकेको हुन्छु अरूले भेउ पाउन नसक्ने गरी
नरमाइला क्षणहरूका माझमा झ्वाँलाको भारी
जत्रोसुकै लौरोले हिर्काए पनि अडिग भएर
यथास्थानमा बसिरहन्छ तिमीसँगको बिछोड
यहाँ मेरा निम्ति अब ऋतुका कुनै अर्थहरू छैनन्
आँखाले देख्छ अब केवल सुकेका नदीहरू
र विलुप्तको शिखरमा पुगेरै छोड्छन् झरनाका प्रवाहहरूले
घामले गुमाउँछ मलाई आल्हादित बनाउने अर्थ
र आकाशले देखाउँछ केवल एक्लैएक्लै उडिरहेका चराहरू ।
तिम्रो छायासम्म पनि कहींकतै नदेखिने जमिनमा
म चढिरहेको छु बिछोडले निर्माण गरेका सोपानका अनौठा खुड्किलाहरू
त्यसलाई कसै गरे पनि देख्दैनन् बिछोडभित्र भयानक
वियोग नभोगेका नयाँ र पुराना नयनहरूले
म बिस्तारै दौडिरहेको छु कहिल्यै नभेट्टयाउने क्षितिजलाई अँगालो मार्न
गालालाई कागज बनाएर र बनाउँदै आँसुलाई मसी
चिठ्ठी लेखिरहेको छु चन्द्रमालाई फेरि नफर्काउने गरी
मेरो मनलाई कब्जा गरेर सदाकालका निम्ति मेरो नाममा थुन्ने थुनुवा पुर्जी लेख्न
साबुन नलगाएको मेरो लुगालाई पखाल्न यहाँ यदाकदा तैनाथ हुन्छन् मेघहरू
तिनलाई निराश बनाउन म खोज्दिन कहीं कतै पनि एउटा ओत
हरेक रात मसँग उदाउने गर्छ झ्यालबाट खसेका ताराहरू हेर्ने शोख
म कुनै पनि बेला हाम फाल्न सक्छु झ्यालबाट
खसेका ताराहरूलाई हत्केलामा राखेर पूर्ति गर्न आफ्नो अर्को शोख ।
यो जमिनमा जताततै तिम्रो छाया छरिएका बखतमा
खुल्ने गरेयोका सहरका सारा चुराका पसलहरू
हिजोआज पनि खुलेका छन् सुन्दर र कोमल नाडीका प्रतीक्षामा
तर म देख्छु तिनमा भएभरका वारुणयन्त्रका गहकिला
प्रयासहरूले पनि निभाउन नसक्ने गरी भइरहेका भीषण आगलागीहरू
निस्किन्छ कसरी सुकेका नदीहरूबाट भीषण आगो निभाउन सक्ने पानी
यदाकदा मेरो साबुन नलगाएको लुगा पखाल्न
तैनाथ भएको मेघको पनि यस्तो आगलागीमा कुनै सीप चल्दैन।
जहाँ तिम्रा नाडीहरू छैनन् त्यहाँ स्वतन्त्र छन्
सहरका सारा चुराका पसलेहरूले मेरा निम्ति
प्रवेश निषेधका परिचयपट्ट सदाकालका निम्ति झुण्ड्याउन
भोकाएको सिंहको मुख लिएर आगोले चपाएपछि
तिम्रो निधार र त्यसमा टाँसिएको प्लास्टिकको रातो टीका
म उभिएको छु आगोको पनि दाँत भएको सहरमा
म हिँडिरहेको छु त्यस्ता सडकहरूमा
जहाँ मेरा निम्ति राता रङ्ग गाडिसकेका चिहानहरू बाहेक अन्य केही छैनन् ।
तिम्रो छायासम्म नदेखिने जमिनमा
तिमीले हजारौं पल्ट आफ्नो मुहार देखाएको ऐनामा
म खोजिरहन्छु तिम्रो अनुहारलाई
आफ्ना औंलामा बढेका नङहरूका सहयोग लिएर
कोतारिरहन्छु ऐनामा प्रत्येक कुनाहरूमा
म खोजिरहन्छु तिम्रा दाँतहरूलाई
जसले लुकाएका छन् मेरा दुःखहरूलाई
टोकेर निर्मूल बनाएका लामा इतिहासहरू ।
तिम्रो छायासम्म नदेखिने जमिनमा
बिछोडले निर्माण गरेका सोपानका अनौठा खुड्किलाहरू चढ्दा
मैले देखेको छु मेरा निम्ति उत्सवहरूले गरेका आत्महत्याहरू
र महोत्सवहरूले मेरा निम्ति गर्दै गरेका आत्मदाहहरू ।
रचना स्थान -कालोपुल काठमाडौं तीस नेपाल तीन