Рет қаралды 108
गीत बनेको कवि पूर्ण विरामको कविता -निगरानीमा
Nepali poem turned into a song - Under surveillance
निगरानीमा - कवि पूर्ण विराम Under surveillance - by poet Purna Biram
क्षुद्र सहरले जुनबेला गरेको हुन्छ
हरेक पलमा चारैतिरबाट निगरानी
कथित सभ्य मानिसहरूले जुनबेला
नरमुण्ड लगाएर छरेका हुन्छन्
निवारक नजरबन्दको अनगिन्ती पुर्जी
त्यस्तो बेलामा स्नेहालु शरीर
अशरीरमा प्रवेश भएको समाचार पनि
बासी भएर कानमा पर्दोरहेछ
सकिँदो रहेनछ त्यस्तो बेलामा
स्नेहालु शरीरका निम्ति ताजा आँसुको मुहान पस्किन ।
क्षुद्र सहरको निगरानीभित्र
स्नेहालु शरीरबाट प्रत्युत्तर नपाइने
चुम्बन गर्न खोजे पनि
अशरीरमाथि गरिने चुम्बनमा
प्रतिबन्ध लागेको टड्कारै थाहा पाइँदोरहेछ
सकिँदो रहेनछ स्नेहालु शरीर
अशरीरमा प्रवेश हुँदा
एक थुँगा मात्रै पनि गुलाफ 🌹 चढाउन
क्षुद्र सहरको निगरानीभित्र
सकिँदो रहेनछ स्नेहालु शरीर
अशरीरमा प्रवेश हुँदा
समवेदनाका संयमित हरफहरू समेत गुनगुनाउन ।
धुवाँको आरक्षणमा जवान भएको
क्षुद्र सहरलाई कुकुरहरूले पहरा दिने गर्छन्
बासी सूर्यको घामभित्र
क्षुद्र सहरले बर्साउँछ फुरौला
र फुरौला चपाउँदै कुकुरका छाउराहरू
खेल्छन् अनगिन्ती बिनाकर्फ्यु
मानिसलाई घरबाट निस्केमा
मात्रै पनि रक्ताम्य पारेर टोकिदिने खेलहरू
बाध्यताको र्याल पुछिरहेको बखतमा
सकिँदो रहेनछ स्नेहालु शरीर अशरीरमा रहँदा पनि
अन्तिम पल्ट सलाम गर्न
क्षुद्र सहरको निगरानीभित्र
सलाममा पनि प्रतिबन्ध लाग्दोरहेछ ।
क्षुद्र सहरको निगरानीभित्र
सकिँदो रहेनछ दिनलाई
एक खिल्ली सिगरेट खाएको
जस्तो सम्झेर बिताउन
रात चीनको पर्खालभन्दा पनि
विशाल हुँदोरहेछ क्षुद्र सहरको निगरानीभित्र
रातलाई कहाँ सुकाउन सकिँदो रहेछ र
क्षुद्र सहरको निगरानीभित्र
पातलो गन्जी सम्झेर
कुनै पनि स्नेहालु शरीर अशरीरमा नचाउन
क्षुद्र सहरको निगरानीभित्र
पीडाको चापमा मानिसलाई
कठिन हुने छैन आत्मघाती दस्ता हुन
मानिस आत्मघाती दस्ता भएमा
कस्तो हुनेछ क्षुद्र सहरको आकृति?
रचना स्थान -कालोपुल काठमाडौं तीस नेपाल तीन