Рет қаралды 1,978
मुसलमान या दलित भएको भए म अहिले जेलमा हुन्थें या मारिन्थें : आनन्द पटवर्द्धन | Anand Patwardhan
आजभन्दा ६० वर्षअघि एउटा १४ वर्षीय बालक आफ्ना काकासँग नेपाल आइपुग्छ। भारतीय स्वतन्त्रता सेनानी तथा समाजवादी आन्दोलनका नेता अच्युत पटवर्द्धन आफ्ना मित्र बीपी कोइरालासँग भेट्न नेपाल आउँदा भतिज आनन्द पटवर्द्धनलाई पनि साथमा ल्याएका हुन्छन्। भारतको स्वतन्त्रता आन्दोलनमा लडेर जेल सजाय समेत भोगेका बीपीसँग अच्युतको घनिष्ठताका कारण उनी नेपाल आएका हुन्छन्। त्यसपछि आनन्दको नेपालसँगको नाता अटुट रहन्छ। १४ वर्षीय तिनै बालक अहिले ७४ वर्षका भए।
आनन्द दोस्रो पटक नेपाल सन् १९९७ मा आए, उद्देश्य सहित। त्यसयता थुप्रै पटक आइसकेका उनको उद्देश्य करीब करीब उस्तै छ, समाज परिवर्तनका निम्ति उनले बनाएका फिल्म मार्फत गम्भीर विषयमा विमर्श गर्नु। यस पटक उनी दक्षिणएशियाली फिल्म महोत्सव ‘फिल्म साउथ एशिया’ को छेको पारेर नेपाल आए, भारतलाई स्वतन्त्रता दिलाउने आन्दोलनको पैरवी गर्ने फिल्म सहित।
अच्युत पटवर्द्धन र उनका नेपाली मित्र बीपी कोइराला लगायतको संघर्षबाट सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भारत अहिले साम्प्रदायिक राजनीतिको भुंग्रोमा जलिरहेको छ, जसलाई आनन्द पटवर्द्धनहरू ‘मानसिक उपनिवेश’ का रूपमा चित्रण गरिरहेका छन्। एउटा जातिको हैकम स्थापित गर्ने उद्देश्य सहित १०० वर्षअघि स्थापना गरिएको भनिएको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले आफ्नो राजनीतिक संस्था भारतीय जनता पार्टी (भाजपा)को साथ लिई समाजमा फैलाइरहेको घृणाको राजनीतिले त्यहाँको बहुसांस्कृतिक समाजलाई तहसनहस पार्दै लगेको बताइन्छ। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत अहिले साम्प्रदायिक राजनीतिको केन्द्रबिन्दु जस्तै बन्न पुगेको विश्लेषण भइरहेको छ।
आनन्द पटवर्द्धनले भारतीय समाजमा विष घोलिरहेको यस्तो विषाक्त राजनीतिको श्रव्यदृश्य मार्फत जोडदार विरोध गर्दै आएका छन्। उनले आफ्ना फिल्म मार्फत आरएसएस जस्ता धार्मिक कट्टरतावादको बदमासी पर्दाफास गर्न जसरी नयाँ नयाँ तथ्य बाहिर ल्याउँछन्, त्यो खोज पत्रकारले गर्ने कामभन्दा कुनै अर्थमा कम देखिंदैन। उनका फिल्ममा देखाइने आङ सिरिङ्ङ पार्ने कतिपय तथ्य र कथ्य हामीले परिकल्पना गरेभन्दा निकै जटिल प्रकृतिका हुन्छन्। भारतीय मूलधारे मिडिया सत्तासँग लहसिएर समाजमा विष भरिरहेको अहिलेको समयमा पटवर्द्धनले जसरी निडर भई सत्तासँग प्रश्न गर्दै जनतालाई आन्दोलित बनाइरहेका छन्, त्यो उनले आफ्ना काका, बाबा र आमाको विरासतबाट प्राप्त गरेको उनको नयाँ वृत्तचित्र द वर्ल्ड इज फेमिली हेरेपछि बुझिन्छ। फिल्म साउथएशियामा देखाइएको उनको यो वृत्तचित्रले कहिले रुवाउँदै कहिले हसाउँदै भारतमा फैलिइरहेको विषाक्त राजनीतिको अन्तरव्यथा कहन्छ। भारत-पाकिस्तानको मैत्री सम्बन्धको महत्त्व बताउँछ। महोत्सवमा यो फिल्मलाई ‘स्टलवार्ट अवार्ड’ दिइयो भने पटवर्द्धनको कामको सम्मान गर्दै ‘फिल्म साउथएशिया सम्मान’ अर्पण गरियो।
हाम्रा निम्ति डरलाग्दो कुरा, सीमापारिको यस्तो विषाक्त राजनीतिले तपाईं हाम्रो घरदैलो ढकढक्याउन थालिसकेको छ। भारत जस्तै बहुसांस्कृतिक हाम्रो समाजमा यसको प्रभाव बढ्दै उतातिर जस्तै जाति जातिबीच झडपका घटना समेत हुन थालेका छन्। अधिनायकवाद र साम्प्रदायिक राजनीति एकसाथ हिंडिरहेको दक्षिणएशियाली राष्ट्रहरूमा लोकतन्त्रका स्तम्भ भत्किंदै गएकाले नेपाल बाहेक अन्यत्र लोकतान्त्रिक विमर्श लगभग बन्देज जस्तै छ। त्यसैले यस क्षेत्रमा काठमाडौं अहिले लोकतन्त्रको केन्द्र बन्न पुगेको छ। हामी सजग भएनौं भने के यो ‘लोकतान्त्रिक स्पेस’ रहिरहला त? मन्थन गरिनु जरूरी छ।
आनन्द पटवर्द्धन पनि आफ्नो देशमा मर्दै गएको लोकतान्त्रिक मूल्यमान्यता कसरी बचाउन सकिन्छ भन्ने विमर्शका निम्ति काठमाडौंमा आयोजित फिल्म साउथएशियाका लागि आफ्ना फिल्म सहित आएका हुन्। यही मौका पारेर हिमालखबरका लागि जेबी पुन मगरले उनीसँग कुराकानी गरेका छन्। महाराष्ट्रका हिन्दू ब्राह्मण परिवारमा जन्मिएका उनले ब्राह्मणलाई उच्च स्थानमा राख्ने परिकल्पना गरिएको आरएसएसको सांस्कृतिक राष्ट्रवादको खुलेर विरोध किन गरिरहेका छन्? हिन्दूत्व राजनीति गरिरहेको आरएसएस र सत्तामा आसीन उसको भ्रातृ संगठन भाजपाको विरोध गर्ने सिनेमा किन बनाइरहेका छन्?
प्रस्तुत छ, भारतबाट नेपाल छिरिरहेको विषाक्त राजनीति र पटवर्द्धनले ती विषयमा बनाएका वृत्तचित्रको सेरोफेरोमा रहेर उनीसँग हिन्दी भाषामा गरिएको संवादको नेपाली रूपान्तरः
विस्तृत पढ्न : www.himalkhaba...
अन्तर्वार्ता : जेबी पुन मगर
सम्पादन : राज यादव
~~~ ~~~ ~~~
हिमालखबरका थप सामग्रीका लागि:
फेसबुक : / himalkhabar
एक्स : / himal_khabar
इन्स्टाग्राम : / himalkhabar
टिकटक: / himalkhabar
थ्रिड: www.threads.ne...
पडकास्ट : podcasters.spotify.com/pod/show/himal-khabar
हिमालखबर: www.himalkhaba...
#anandpatwardhan #director #film #filmsouthasia #festival #fsa #interview #himalkhabar #himalmedia #nepal